सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै संसदमा एमाले सांसदको नाराबाजी, बैठक अवरुद्ध
काठमाडौं,साउन २५ । प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
बैठक शुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताए । उनले आफ्नो भनाइ राखिरहँदा सत्तापक्षका सांसद पनि आफ्नो आसनबाट उठेका थिए ।
सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख देवराज घिमिरे सांसदहरूलाई बस्न आग्रह गरेका थिए । सत्तापक्षका सांसदले आसन ग्रहण गरेपछि एमालेका सांसदहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।
यही साउन २ गते सिनामङ्गलबाट बरामद भएको अवैध सुन भित्रिएको विषयमा छानबिन समिति बनाउनुपर्ने एमालेको माग छ ।
बैठकमा सभामुख देवराज घिमिरेले सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको र सदनलाई गृहमन्त्रीले जवाफ दिइसक्नुभएकाले सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरूलाई आग्रह गरेका थिए । उनले भने, ‘संसद् जनताका आवाज उठाउने थलो हो । अहिले बाढीपहिरोका घटनालगायत संसद्मा उठाउनुपर्ने अन्य थुप्रै विषय छन् ।’
उनले संसद्को नियमित कारबाही अगाडि बढाउन आग्रह गरे पनि एमाले सांसदले नाराबाजी गर्दै अवरोध कायम राखेपछि आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते दिनको १ बजे बस्ने छ । रासस

