जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छः एमाले अध्यक्ष ओली
काठमाडौं,साउन २५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन् ।
बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालीहरुका बीचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए । उनले नेपालमा जातिय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने बताए ।
पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने, पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए। अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको बताए । पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाइ रहेको थियो ।
उनले भने, – ‘एउटा कुरा म साथीहरुलाई के भन्न चाहन्छु भने यदी कुनैपनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबिचमा विद्धेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिदैन । हाम्रो विविधता छ । यो यथार्थ हो । यो विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ । देशको विकास हुन्छ । देश अगाडी बढ्छ । देश आधुनिक हुन्छ र समृद्ध नेपाल सुखि नेपाली हामी बनाउन सक्छौँ । समृद्ध नेपाल सुखि नेपाली भनेको सबै जाति, भाषा, संस्कृतिका सबै भुगोलमा बस्ने सबै व्यवसायका जनताको कुरा हो । पहिचानलाई विकृत रुपमा हामीले लिनु हुँदैन । पहिचान सकारात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हीतका लागि पहिचान हो । आफ्नो पहिचान देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचानको मुद्दा हो र रु हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्नका लागि हो । समानताका लागि हो । सद्भावका लागि हो हाम्रो पहिचानको मुद्दा । विभेदका लागि पनि होइन ।
असमानताका लागि पनि होइन । र विद्वेषका लागि हुँदै होइन । पहिचानको मुद्दा घृणा फैलाउनका लागि होइन । विद्वेषका लागि होइन । मित्रता बढाउनका लागि हो । प्रेम फैलाउनका लागि हो । त्यसकारण यस दिशामा अगाडी बढौँ भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

