देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा
काठमाडौं,साउन २८ । अहिले देशका अधिकांश पहाडी भूभागमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तर (नेपाल नजिक) रहेकाले अहिले पहाडी भूभागमा भारी वर्षा भएको हो ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार पछल्लो एक घण्टामा सिन्धुपाल्चोक आसपास क्षेत्रमा भारी वर्षा मापन भएको छ । यस्तै, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश पहाडी भूभागमा अझै वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।
उनले भनिन, “अहिले अधिकांश पहाडी स्थानमा वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा सिन्धुपाल्चोक आसपासमा भारी वर्षा मापन भएको हो । अधिकांश पहाडी भूभागमा अझै केही बेर वर्षा हुने देखिन्छ ।”
यस्तै, मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सात प्रदेशका ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद् शाक्यका अनुसार आइतबार राति पनि भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा अति भारी वर्षा र अन्य स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । सोमबार पनि वर्षाको सम्भावना छ । मङ्गलबारबाट भने मौसममा सुधार आउने उनले बताइन ।

