संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन
काठमाडौं,साउन ३० । संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको हो ।
दलितसम्बन्धि विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए। त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ ।
कार्यान्वयन भए, गरेका कामहरुको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रुपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई निर्देश गरिएको पनि समितिले जनाएको छ ।

