पोखराको शहरी पूर्वाधार विकासमा एडिबीले सघाउने, झन्डै ११५ मिलियन अमेरिकी डलर खर्च गर्ने



कास्की,भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ ।     

उनिहरूबीच एडिबीको सहयोगमा सञ्चालन हुने सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावनाका बारेमा भेटवार्तामा छलफल भएको हो ।

एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक तथा ढलको स्तरोन्नति गरिने छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् ।

सोअन्तर्गत सहिदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका ‘सर्भिस प्वाइन्ट’ स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि ३ दशमलव शुन्य ५ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल तथा संरक्षित वन क्षेत्र हो । एडिबीकै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण गरिनेछ ।

फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, ‘वाटर फाउन्टेन’, ‘वाटर स्प्रिङ प्रोटेक्सन’, ‘इन्फरमेसन बोर्ड’, ‘डाइरेक्सन बोर्ड’, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा ३ दशमलव ०५ मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ ।

रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ ।

इको रुटमा विश्रामस्थल, शौचालय, धारा, मन्दिर जीर्णोद्धार, सूचना बोर्डलगायत सार्वजनिक सुविधा समावेश हुनेछन् । यसमा ५ दशमलव ६३ मिलियन अमेरिकी डलर खर्च हुने छ । शान्ति वनबाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । परियोजनाअन्तर्गत विद्यमान वन क्षेत्रलाई हरियाली केन्द्रका रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । त्यहाँ जडीबुटी बगैँचा, पैदलमार्ग, टिकट काउन्टर, विश्रामस्थल, ‘पिकनिक सेड’, ध्यान केन्द्र, ‘कम्पाउन्ड वाल’, ‘फेन्सिङ’, ‘एप्रोच रोड’लगायत निर्माण हुनेछ ।

अर्को परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । महानगरपालिकाका वडा नं २, ३ र ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिरको संरक्षणका लागि यो परियोजना लागू गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्दै एक प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिने छ । यसले पुरानो पोखराको सहरी पुनरुत्थानसहित सिद्दार्थचोकबाट विन्ध्यवासिनीसम्म १ दशमलव ५ किमी सडकको स्तरोन्नति र फुटपाथ निर्माण गर्नेछ । यसका लागि एडिबीले एक दशमलव ९८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भइसकेको छ । यस परियोजनाको लागि डिएससीएस खरिदका लागि टिओआरको तयारी भइरहेको छ । यसमा दुई मिलियन अमेरिकी डलर खर्च हुनेछ । यीलगायतका परियोजनाका विषयमा एडिबीको टोलीले प्रमुख आचार्यसँग छलफल गरेको हो । सो क्रममा प्रमुख आचार्यले परियोजना तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्