ज्येष्ठ नागरिक फोटो प्रदर्शनीमा मेयर भावविह्वल



ललितपुर,असोज १४ । राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए । महर्जनले उद्घाटनको क्रममा स्वर्गीय सत्य मोहनको तस्वीर देखेर भावुक भई सम्मान प्रकट गरे ।

उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे । उनले प्रदर्शनीमा राखिएका तस्बीरहरु एकदमै राम्रो लागेको भन्दै प्रदर्शनको सफलताको कामना गरे । कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी  राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए ।

प्रदर्शनीमा राखिएको तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ । फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए । प्रदर्शनीमा विदैशी पर्यटकहरुको पनि उपस्थिति थियो । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।हरेक बर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर १ तारिखका दिन मनाईन्छ ।

प्रतिक्रिया दिनुहोस्