तातोपानी नाकामा चहलपहल



सिन्धुपाल्चोक,असोज १५ । झन्डै साढे आठ वर्षपछि आयात निर्यात र दुईतर्फी सर्वसाधारण आउजाउ खुलेको तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ । 

वि.सं. २०७२ वैशाख १२ को भूकम्पदेखि उक्त नाका भदौ १५ सम्म आंशिक सञ्चालनमा थियो तर अहिले पूर्ण रूपमा सञ्चालनमा आएको सो नाकामा बिस्तारै चहलपहल र कारोबारको गति बढ्न थालेको छ ।

नजिकिएको दसैँतिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि उक्त नाकामा चहलपहल बढ्दै गएको हो । जाडोका लागि रेडिमेड कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनको विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले चीनबाट सामान आयात हुँदै गर्दा अहिलेसम्म कुनै बाधा समस्या नआएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । आयात निर्यात सहज भएमा सरकारले राखेको लक्ष्य अनुरूप राजस्व सङ्कलन हुने केसीले बताए ।

नाकामा समस्यै समस्या

तातोपानी नाका दुईतर्फी सञ्चालनमा आए पनि नेपाल भूभागतर्फ समस्यै समस्या छ । सरकारले नाकास्थित नेपाल भूमिमा सडक, भौतिक पूर्वाधार, सुरक्षा प्रबन्ध, नाका आबद्ध सरकारी कार्यालयलगायतका पक्ष व्यवस्थित नगर्दा व्यापारमा असहजता पैदा भएको छ ।

हाल सिन्धुपाल्चोकवासीलाई एकवर्षे पास दिन थालिएको छ । पास बनाउन आउनेको सङ्ख्या दिनहुँ बढेको छ । अध्यागमन कार्यालयको भवन छैन । भूकम्पले जीर्ण र खण्डहर कोठामा बसेर अध्यागमन कार्यालय चलेको छ । बिजुली सेवा भरपर्दो छैन । विद्युत् ब्याकअप छैन । सो कारण नेपाल घुम्न आउने पर्यटकलाई भिसा प्रविष्ट गर्न घण्टौँ समय कुर्नु परेको छ । अहिले नेपालबाट तिब्बतको भूमिमा दैनिक चार सयभन्दा बढी सर्वसाधारण किनेमलका लागि जान्छन् तर विद्युत् अभावका कारण पास बनाउन नपाएर रोकिनु परेको छ । 

मितेरी पुल नजिकैको मेन गेट जीर्ण र अव्यवस्थित छ । सुरक्षा जाँचमा बस्ने सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई डरत्रास दिने प्रकारको जाँच छ । नेपालबाट कुनै पनि सामग्री चिनियाँ क्षेत्रमा लैजान दिइएको छैन । नेपालमा बनेको एक पोका चाउचाउसमेत चिनियाँ क्षेत्रमा लैजान नपाइने स्थानीय शेरबहादुर मगरले बताए ।

आयातित वस्तु कुन गुणस्तरको हो, परीक्षण गर्ने कुनै उपकरण छैन । नाकामा क्वारेन्टाइन व्यवस्थित छैन । मितेरी पुलदेखि बाह्रबिसेको खोर्सानीबारीसम्मको २८ किलोमिटर सडक खण्डहर छन् ।

मालवाहक गाडी, ठुला कन्टेनर उच्च जोखिममा उक्त सडकमा आउजाउ गर्नु परेको छ । पटक पटक सडकमा लगानी भए पनि त्यो बालुवामा पानी हाले झैँ भइरहेको छ । चीनबाट गएको वैशाखमै ल्याइएको रासायनिक मल भन्सारमा गोदाम गरी राखिएकाले अहिले व्यापारीले ल्याएको सामान व्यवस्थापनमा कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्