एमाले गण्डकी प्रथम प्रदेश अधिवेशन सुरु



पोखरा,असोज १५ । एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उनी आउन सकेनन् ।

अधिवेशनको उद्घाटन पार्टीका महासचिव शङ्कर पोख्रेलले गरे । सो अवसरमा महासचिव पोख्रेलले गठबन्धन सरकारले देश समृद्धितर्फ नभई बरबादीतर्फ लगिरहेको आरोप लगाए । उनले वर्तमान सरकारले सुशासन र महँगी नियन्त्रण गर्न नसकेको टिप्पणी गरे । उनले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो दल हुने दाबी गरे । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताए । लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप उनले लगाए ।  उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचार र महँगीमा डुबेको आरोप लगाए । एमालेका गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास गरी नेतृत्व चयन गर्ने बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

अधिवेशनका लागि गण्डकी प्रदेशभरिका प्रतिनिधि पोखरा आएका छन् । आज र भोलि हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिए ।

एमाले गण्डकी प्रदेश अध्यक्षका लागि कृष्ण थापा, नवराज शर्मा, राजीव पहारी, मायानाथ अधिकारीलगायतको चर्चा छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्