एनपिएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, विजेता फाइनलमा



काठमाडौं, मंसिर १ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले पनि फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

पहिलो अवसरमै फाइनलको यात्रा तय गर्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रनेछन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुग्ने योजनामा छ भने लुम्बिनी दोस्रोपटक उपाधि भिडन्तमा स्थान बनाउने लक्ष्यमा छ।

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यस संस्करणको पहिलो भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो। त्यसैले आज सुदूरपश्चिमसँग अघिल्ला दुई हारको बदला लिने अवसरसमेत हुनेछ।

लुम्बिनी भने सुदूरपश्चिमविरुद्धको पछिल्लो जितको लय कायम राख्दै पुनः फाइनलमा पुग्ने दाउमा छ।

आजको खेलमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यसैले दुवै टोलीका लागि पहिलो क्वालिफायर जित्नु फाइनल यात्रा सहज बनाउने महत्वपूर्ण अवसर हुनेछ।

प्रतिक्रिया दिनुहोस्