विधेयक नआउँदै कर्मचारी आन्दोलि



काठमाडौं,असोज १६ । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा ऐनको अपनत्व महसुस गर्ने गरी ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रेका छन्। सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको भावना नसमेटिएको भन्दै कर्मचारी सडक आन्दोलनमा उत्रेका हुन्। 

सोमबार स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा विभिन्न माग राख्दै दबाबमूलक आन्दोलन गरेका छन् ।सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै रहने व्यवस्था गर्नुपर्ने, निजामती कर्मचारीभित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने, सहमतिबिना ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमान योग्य चक्रीय प्रणालीमा कर्मचारी सरुवा गरिनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्था गरिनुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकास व्यवस्था गर्नुपर्ने माग राखिएको स्थानीय तहमा कार्यरत कर्मचारी सङ्घर्ष समितिले जनाएको छ। 

सङ्घर्ष समिति कोशी प्रदेशका संयोजक छवि ढकालले आफूहरूका माग सुनुवाइ नभए असोज १९ गतेदेखि सबै स्थानीय तहको अत्यावश्यकबाहेकका काम ठप्प पार्ने बताए । आइतबारदेखि साङ्केतिक रूपमा आन्दोलनको सुरुवात गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्