उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट



काठमाडौं,असोज १६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् । 

प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट र उनको टोलीलाई गृह मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसिसीजस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरे ।

साथै नेपालको संसद्ले नै एमसिसी परियोजना पारित गरेकाले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उनले बताए । परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको समेत उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पारे । उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास दिलाए । एमसिसी नेपालसँग परियोजना प्रगतिको पछिल्लो अवस्थाबारे आफूले जानकारी लिएकोसमेत उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले पाँच वर्षमा एमसिसी परियोजना सक्नुपर्ने भएकाले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुसी व्यक्त गरे । एमसिसी कार्यान्वयनको जिम्मेवारी एमसिसी नेपालको रहेको र यो नेपाल सरकार अन्तर्गतको संरचना रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्