विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको लागि खुलायो पीपीए



काठमाडौं,असोज १६ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्घजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको खरीद विक्री सम्झौता (पीपीए)का लागि प्रवर्द्धक कम्पनीहरूलाई आह्वान गरेको छ । प्राधिकरणले एक दैनिक पत्रिकामा मंगलवार सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो । 

आरओआर आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा ६,७५० मेगावाट र पीआरओआर आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा ४५ सय मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णय अनुसार प्रवर्द्धक कम्पनीलाई आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पीपीएका लागि निवेदन दिन प्राधिकरणले आह्वान गरेको हो । 

प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीएको कारवाही प्रक्रिया बढाउने प्राधिकरणले जनाएको छ ।

तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्