दुर्घटनामा एकको मृत्यु, दस घाइते



मकवानपुर,असोज १७ । मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् । हेटौँडा–धरान–चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ स्थित तीनतलेमा हेटौँडाबाट छतिवनतर्फ जाँदैगरेको दूध बोक्ने ना १ घ ५४४ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–९ का सिद्धान्त लामाको मृत्युभएको हो । 

ट्याङ्कर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । ट्याङ्कर दुर्घटनामा घाइते भएका सहचालक धादिङको गजुरीका प्रेम अधिकारीको उपचार भइरहेको छ । 

यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ स्थित सान्नीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदैगरेको म्याजिकलाई सोही दिशाबाट आउँदैगरेको ट्रकले ठक्कर दिँदा नौ जना घाइते भएका छन् । ना १ ज ३१६७ नं. को म्याजिक रोकेर यात्रु चढाउने क्रममा ना ५ ख ९६८४ नं.को ट्रकले ठक्कर दिएको हो । 

घाइतेमध्ये दुई वर्षीया बालिका कुश्मी मोक्तान र ५६ वर्षीया ठूलीमाया बम्जनको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन पठाइएको छ । बाँकी घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्