टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

काठमाडौँ,असोज १८ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज १७ गते को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो।
कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन भने आज (२०८० असोज १७ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी हुन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन ।