गम्भीर अपराधका कैदीलाई आममाफी दिने काम बन्द गरियोस्- नेता थापा

काठमाडौं,असोज १८ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आज बैठकको विशेष समयमा थापाले आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिन विद्यमान कानुनमा स्पष्टता र नयाँ कानुन निर्माणका लागि सरकारलाई निर्देशन दिन माग गरे ।
संविधान दिवसका अवसरमा सरकारले छ सय ७० कैदीलाई आममाफी दिएको सम्बन्धमा नेता थापाले भने, “संविधानको मर्मविपरीत कानूनी छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधमा दोषी ठहर गरिएकोलाई कैद मिनाहा गरिएको छ । यो निर्णय गलत छ । यसको विरोध स्वाभाविक र वाञ्छनीय छ । यसको विरोध हुन्छ । यो विषय अदालतको ढोकासम्म पुगेको छ र हामी सबैलाई गिज्याइरहेको छ ।”
मानवीय त्रुटि वा कुनै व्यक्ति अन्यायमा परेको अवस्थामा कानुनसम्मत रुपमा कैदीलाई आममाफी दिने सुविधा विश्वमै रहेको उल्लेख गर्दै सांसद थापाले यसको मूल मर्म कुनै पनि व्यक्ति अन्यायमा पर्नुहुँदैन भन्ने भएको स्पष्ट पारे। साथै, उनले कानुनका छिद्र खोजेर गम्भीर अपराधमा संलग्न कैदीलाई स्वार्थपूर्ति गर्ने काम गर्न नहुनेमा जोड दिए ।