बझाङ भूकम्पः अस्थायी आवासका लागि ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ,असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन्। प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।
यस्तै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताए। राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन तथा थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने र सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको र भुकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गर्ने भएको छ।