निजामती विधेयक संसद्मा दर्ता गरिँदै
काठमाडौं,असोज २०सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाको भाषागत शुद्धाशुद्धि मिलाएर संसद्मा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। गत भदौ २१ गते मन्त्रीपरिषद्को बैठकले शिक्षा र सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्णय गरेको थियो। विद्यालय शिक्षासम्बन्धी विधेयक यस अगाडि नै संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा भने संसद्मा अझै दर्ता हुन सकेको छैन। अहिले विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा नै रहेको छ।
निजामती सेवा विधेयकको मस्यौदा परिमार्जित गर्नुपर्ने माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारी पाँच दिनदेखि काठमाडौँको सडक आन्दोलनमा उत्रेका छन्। मुख्य सचिव डा. वैकुण्ठ अर्यालले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा नमिलेका भाषागत शुद्धाशुद्धि मिलाउन समय लागेकाले विधेकको मस्यौदा संसद्मा दर्ता हुन ढिलाइ भएको बताए ।
उनले अब मस्यौदा संसद्मा दर्ता गर्ने अन्तिम तयारी भइरहेको बताउँदै भने, “अब छिट्टै विधेयकको मस्यौदा संसद्मा दर्ता हुने छ। अब विधेयकको मस्यौदामा अलमल केही छैन।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने विधेयकको मस्यौदा संसद्मा दर्ता गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट मस्यौदा मन्त्रालयमा आई नसकेकाले मस्यौदा दर्ता गर्न ढिलाइ भएको जनाएको छ। मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले भने, “मन्त्रालयले विधेयकको मस्यौदा मन्त्रीपरिषद्मा पठाएपछि सो डकुमेन्ट मन्त्रीपरिषद्को सम्पत्ति भइसकेको छ। अब मन्त्रीपरिषद्ले संसद्मा दर्ता गर्नु भनेर मन्त्रालयलाई मस्यौदा पठाउनेबित्तिकै मन्त्रालयले मस्यौदा संसद्मा दर्ता गराउँछ।”
गत भदौ २१ गते मन्त्रीपरिषद्ले विधेयकको मस्यौदा संसद्मा पेस गर्ने निर्र्णय गरिसकेपछि मस्यौदाका कतिपय प्रावधान परिमार्जन गर्न लागिएकाले विधेयकको मस्यौदा संसद्मा पेस गर्न अलमल भएको टे«ड युनियनको आशङ्का छ।