नेपालले पायो महिला कबड्डीको कांस्य पदक



हाङझाउ,असोज २० । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ ।

महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार बिहान पदक वितरण गरिएको हो । नेपाल समूह चरणमा बंगलादेशलाई ३७–२४ अङ्कले हराएर पदक नजिक पुगेको थियो ।

समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।  नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अङ्कले पराजित भएको थियो ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अङ्कले हराउँदै स्वर्ण जितेको हो  ।नेपालसँगै साविक विजेता इरानले पनि कांस्य जितेको छ । जारी एसियाडको १५औँ दिनमा आएर शनिबार नेपालले औपचारिक रुपमा कांस्य पदक ग्रहरण गरेको छ ।

एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीको खेलाडीहरुमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त छन् । 

प्रतिक्रिया दिनुहोस्