इजरायलमा नौ नेपाली घाइते, नेपालद्वारा हमलाको भर्त्सना
काठमाडौं,असोज २१ । इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
समाचार एजेन्सीहरूका अनुसार प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमण र त्यसको प्रतिशोधमा इजरायलबाट भएको जवाफी आक्रमणमा परी दुवैतर्फका गरी करिब तीन सय जनाको मृत्यु भएको छ । झन्डै एक हजार घाइते भएको अनुमान गरिएको छ ।
नेपाल सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको घोर भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस महत्वपूर्ण घडीमा, नेपालले इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार इजरायलका जनता र सरकारका साथै यस निर्मम हमलाका पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।”
इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीसँग निकट सम्पर्कमा रहेको जनाएको छ । नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ ।
स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकलाई सतर्क रहन र अधिकारीले सुझाव दिएको सुरक्षा उपाय पालना गर्न अनुरोध गरिएको छ ।