प्रतिनिधिसभा बैठक : चाडबाडमा भएको मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग 



काठमाडौं,असोज २२ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।  

उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरू आफ्ना धारणा राखेका हुन् ।  

त्यस्तै, प्यालेस्टाइनको लडाकू समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योउपचारमा पनि गम्भीर हुन सांसदहरूले सरकारको ध्यानाकर्षण गराए । सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री विक्री वितरण भइरहेको विषय उठाइन् । 
 
सांसद विनिता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाइन् । फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उनको भनाइ छ। सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताइन् । आर्थिक मन्दीका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उनले संसद्मा उठाइन् । 

सांसद शान्ति श्रेष्ठले दशैं, तिहारलगायत चाडबाड मान्न घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरिन् । साथै उनले धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही र सडकको अवस्था सुधार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।  

सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराइन् । 
 
सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति विदेशिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताइन् । बंगलादेशले कृषि क्रान्तिमार्फत् आर्थिक समृद्धि हासिल गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाशक्ति विदेश जानबाट रोक्नुपर्ने बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्