कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका नारायण उतै अस्ताए



कैलाली,असोज २२ । पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन । 

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ । सूची सार्वजनिक भएसँगै नारायणको परिवारलाई सम्पर्क गर्दा उनीहरू इजरायलमा भएको घटनाप्रति बेखवर देखिन्थे। नारायणको परिवारको बारेमा जानकारी छिमेकी यशोदा बमसँग बुझ्ने प्रयास गरियो ।

बमका अनुसार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन् । नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो । दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याएका थिए । सीताबाट एक छोरा छन् । सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पुरा गर्दै आएको छिमेकी बमले बताइन ।

छोरा नारायणको बारेमा सितासँग बुझ्दा उनले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको बताए । चार दिन अगाडी छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्चपानी नभए दुई दिन पछि पठाउने कुरा भएको थियो ।

आमा सीता न्यौपाने भन्छिन, “ साँझ ६ बजेपछि कुरा हुन्थ्यो, चार दिन अगाडी कुरा भएको थियो । दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिन पछि मैले पटाइदिन्छु भनेको थियो ।”

नारायण परिवारका तीन छोरा मध्ये माइला छोरा हुन् । सानै देखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे । नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए । 

महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो । 

नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई  सुनाएका थिए । आमा सीताले अरू छोराहरू भन्दा पढाइमा पनि जेहेन्दार ,हक्कि स्वभावको केही गर्ने खालको भएपछि छोराले भनेको कुरालाई कहिल्यै नाइनास्ती नगरेको बताइन । सीताले भनिन “जेठोको पढाइमा खासै ध्यान थिएन, १० कक्षासम्म पढ्यो, विवाह गरेर अहिले बुढाबुढी दुवै इन्डिया छन् । कान्छो छोरो भर्खर ६ कक्षामा पढ्छ ।” गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाई खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दै छन् ।

नारायणका बुवा हरिकृष्ण न्यौपाने सोझो निरक्षर छन् । उनलाई छोरोले के विषय कुन क्याम्पसमा पढ्दै छ भन्न पनि आउँदैन । “कृषि विषय हो की, भेटनरी पढ्न गएको हो ” हरिकृष्णले भने । २५ वर्षीय नारायणले इजरायल जानु भन्दा पहिले छ महिना दार्चुलामा तालिम (ईन्टर्न) गरेर आएका थिए । इजरायल जाँदा दुई लाख जति खर्च भएको बताउने नारायणको परिवारलाई यो समाचार तयार पार्दासम्म मृत्युको खबर दिइएको छैन ।

सीताले छोराले भनेको कुरा सम्झँदै भनिन “ क्याम्पसले पठाउने हो , जाने म जस्तै अरुपनि धेरै छन्  यतैका छन् सबै,एक बर्ष बसेर सिक्दै कमाउँदै गर्ने हो भनेको थियो ।”इजरायलमा भएको आक्रमणको घटना बताएपछि थाहा पाएकी  सीताले छिमेकीको घरमा नेट भएको र गएर छोरासँग कुरा गर्ने बताइन ।

इजरायलको आक्रमणमा ज्यान गुमाउने नारायण जस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ३ का आशिष् चौधरीको नाम समेत सार्वजनिक भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका ४९ जना विद्यार्थी मध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृर्षी फार्ममा रहेका थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्क विहीन मध्ये १० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको हो  । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्