भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी, एउटै च्याङ्ग्राको मूल्य ५५ हजार ! 



म्याग्दी,असोज २३ । जुम्लाका कृषकहरू भेडाच्याङ्ग्रा विक्री गर्न १७ दिन हिँडेर म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औं दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो ।

‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरीद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौं,’ उनले भने, ‘यहाँ ल्याइपुर्‍याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य रु ५० देखि ५५ हजार परेको छ ।’  

उनीहरू जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करीब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन् । 

स्थानीयका अनुसार करीब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा विक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्याङ्ग्रा विक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा विक्री गर्न आएका हुन् । 

हालसम्म करीब १५ मात्र भेडाच्याङ्ग्रा विक्री भएको श्यामराज बोहराले बताए । ‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्याउदा विक्री हुन्छन् कि भन्ने आशा छ ।’ दशैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा ल्याइएका हुन् ।  

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङ्ग्रा खरीद गर्नका लागि व्यापारीहरू मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका कृषकका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरीद गरेर निकासी गर्दछन् । 

च्याङ्ग्राको हुल भित्रिएसँगै दशैं आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेष गरी लेकाल जडीबुटी खाने भएकाले दशैं तिहारजस्ता पर्वमा पोषिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ । 

स्वादिलो र पोषिलो हुने भएकाले दशैंमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए । तीन वर्षअघि प्रतिवटा रु २५ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्