दसैँ–तिहारमा पनि यात्रुलाई धुलोमै यात्रा



नवलपुर,असोज २३ । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा यात्रा गर्ने यात्रुले यस पटकको दसैं, तिहारलगायतका चाडपर्वमा पनि धुलो र खाल्डाखुल्डी भएको सडकको यात्रा गर्नुपर्ने भएको छ । 

सडक विस्तारको कामले गति नलिएपछि यो पटकको चाडपर्वमा धुलो र खाल्डाखुल्डी भएको सडकमा यात्रा गर्नुपर्ने बाध्यता हुनेभएको हो । सडकखण्डको गैडाकोट–दाउन्ने भागमा अहिलेसम्म ४१.४ प्रतिशत काम सम्पन्न भएको आयोजनाको पूर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए । 

उनका अनुसार अजोज १५ गतेसम्म ४१.१७ प्रतिशत सडकको भौतिक प्रगति भएको थियो । पूर्वीखण्डमा ६५ किलोमिटरमध्ये १६ किलोमिटर बाटो कालोपत्रे भएको छ । 

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो ।

गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो । साढे चार वर्षको अवधिमा पनि बाटो विस्तारको कामले सोचेअनुसार गति लिन नसकेपछि यो बिचमा दुई पटक म्याद थपिएको छ । 

पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन नसकेपछि पछिल्लो पटक भदौ ११ गतेदेखि लागू हुनेगरी ३३० दिनको म्याद थप भएको छ । पहिलो पटक म्याद थपिदा १८ प्रतिशत काम सम्पन्न भएको थियो । दोस्रो पटक थपिदा ३८ प्रतिशत काम सकिएको आयोजनाको भनाइ छ । 

थपिएको एक महिनाको अवधिमा ३ प्रतिशतभन्दा बढी काम भएको आयोजना प्रमुख झाले बताए । नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयले भने सोचेअनुसार कामले गति लिन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले आयोजना प्रमुख, निर्माण कम्पनी चाइना स्टेटका प्रमुखलगायतलाई केही दिनअघि बोलाएर सडक विस्तारको कामलाई तीव्रता दिन आग्रह गरेका थिए । 

सडक विस्तारको काम नभए पनि चाडपर्वको समयमा खाल्डाखुल्डी पुरेर यात्रुलाई सहज यात्राका लागि व्यवस्था गर्न निर्देशन दिएको प्रजिअ श्रेष्ठले बताए । तर पूर्वीखण्डको आयोजना प्रमुख आशिष् थापाले भने चाडपर्व र मौसमका कारण दसैँ–तिहार अघि महत्त्वपूर्ण कामले गति लिन नसक्ने बताए । 

प्रतिक्रिया दिनुहोस्