नेपालको कुरिलो अस्ट्रेलियादेखि कतारसम्मको भान्सामा, दुई महीनामै ५१ लाखभन्दा बढीको निर्यात  



काठमाडौं,असोज २४ । नेपालको कुरिलो अस्ट्रेलियादेखि कतारसम्मको भान्सामा पुग्ने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महीनामा ४८ लाख १९ हजार रुपैयाँको २८ हजार ९५६ केजी कुरिलो नेपालबाट निर्यात भएको हो ।

आव २०७९/८० को दुई महीनामा भने नेपालबाट ५१ लाख ६ हजार रुपैयाँको २६ हजार २५६ केजी कुरिलो निर्यात भएको थियो । कुरिलो निर्यात परिमाणमा १० प्रतिशतले बढ्दा मूल्यमा भने ५ प्रतिशतले घटेको हो । 

आव २०८०/८१ को दुई महीनामा सबैभन्दा धेरै कुरिलो कतारमा निर्यात भएको छ । सो अवधिमा कतारमा ४४ लाख ९१ हजार रुपैयाँको २३ हजार ७८२ केजी कुरिलो निर्यात भएको हो । दुई महीनामा कुरिलो सर्वाधिक निर्यात हुने देशको सूचीको दोस्रोमा युएई छ । उक्त देशमा ३ लाख ८ हजार रुपैयाँको ३ सय ८ केजी निर्यात भएको छ । यो सूचीमा तेस्रोमा अस्ट्रेलिया छ । उक्त देशमा २० हजार रुपैयाँको १८ केजी कुरिलो निर्यात भएको छ । 

यी तीन मुलुकमा सबैभन्दा बढी मूल्यमा युएईमा कुरिलो निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार युएईमा औसतमा प्रतिकेजी रु १ हजार ६५१ मा कुरिलो निर्यात भएको छ । यस्तै कतारमा प्रतिकेजी औसतमा  रु ५२९ मा र अस्ट्रेलियामा प्रतिकेजी औषतमा रु ४४० मा कुरिलो निर्यात भएको छ । 

मधेशबाहेक सबै प्रदेशमा खेती

कृषि मन्त्रालयका अनुसार नेपालमा १७५ हेक्टरमा कुरिलो खेती हुने गरेको छ । मधेश प्रदेशबाहेक नेपालको सबै प्रदेशहरूमा कुरिलो खेती हुने गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १७५ हेक्टरमा गरिएको खेतीबाट १ हजार २५७ मेट्रिक टन कुरिलो उत्पादन भएको थियो । उक्त वर्ष नेपालबाट ५९ लाख ६६ हजार रुपैयाँको ७०० केजी कुरिलो निर्यात भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने १६५ हेक्टरमा गरिएको खेतीबाट १ हजार २७६ मेट्रिक टन कुरिलो उत्पादन भएको थियो । 

कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी बागमती प्रदेशमा ७२ हेक्टरमा गरिएको खेतीबाट ८३० मेट्रिक टन कुरिलो उत्पादन भएको थियो । यस्तै, दोस्रोमा कोशी प्रदेशमा ४८ हेक्टरमा गरिएको खेतीबाट १४० मेट्रिक टन र तेस्रोमा लुम्बिनी प्रदेशमा २८ हेक्टरमा गरिएको खेतीबाट १६७ मेट्रिक टन कुरिलो उत्पादन भएको थियो । 

कृषिविज्ञ केदार बुढाथोकी नेपालको तराईदेखि पहाडसम्म कुरिलो खेती हुने बताउँछन् । ‘कुरिलोको भाउ पनि राम्रो हुन्छ र सबैजसो ठाउँमा खेती गर्न सकिन्छ,’ उनी भन्छन्, ‘तर सम्बन्धित निकायहरूले कुरिलो खेती गर्न कृषकहरूलाई प्रोत्साहन नगर्दा यस खेतीमा कम मानिसहरूको मात्र चासो भएको देखिन्छ ।’

‘मधेशमा कुरिलो खेती हुन्छ । तर, धेरैलाई त्यहाँ कुरिलो खेती हुन्छ भनेर थाहा नहुँदा त्यहाँ खेती हुन सकेको छैन,’ उनले थपे । नेपालमा लामो समयदेखि कुरिलो खेती हुँदै आएको बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘नेपालमा कुरिलो राणाहरूले लण्डनबाट ल्याएको भनिन्छ । काठमाडौंको ज्यापुहरूले त्यसबेला नै खेती गर्थे । तर, प्रचारप्रसार नहुँदा यो खेती नेपालमा फस्टाउन नसकेको अवस्था छ । त्यसैले कृषकहरूलाई कुरिलो खेती गर्न प्रोत्साहन गर्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्