स्यानिटरी प्याड निर्यात बढे पनि उद्योग धमाधम बन्द



काठमाडौं,असोज २४ । नेपालबाट हुने स्यानिटरी प्याड निर्यात ५८२ प्रतिशतले बढेको छ । नेपालबाट प्याड निर्यात बढे पनि उद्योग भने धमाधम बन्द भइरहेको व्यवसायी बताउँछन् । नेपाल स्यानिटरी प्याड उत्पादक संघका अनुसार नेपालमा सञ्चालनमा रहेका प्याड उत्पादक कम्पनीमध्ये ४२ प्रतिशत उद्योग बन्द भइसकेको अवस्था छ । 

भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष (आव) को दुई महीनामा ५ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको २ करोड २ लाख २४ हजार ६९९ थान स्यानिटरी प्याड निर्यात गरेको छ । गत आवको सोही अवधिमा नेपालले ८३ लाख ३९ हजार रुपैयाँको २७ लाख ८० हजार ६१६ थान स्यानिटरी प्याड निर्यात गरेको थियो । गत आवको दुई महीनाको दाँजोमा यसपालि सोही अवधिमा स्यानिटरी प्याड निर्यात ५८२ प्रतिशतले बढेको छ । 

नेपालबाट स्यानिटरी प्याड अमेरिका र भारतमा निर्यात हुने गरेको छ । भन्सार विभागका अनुसार चालू आवमा नेपालबाट सबैभन्दा धेरै प्याड भारत निर्यात भएको छ । पछिल्ला दुई महीनामा भारतमा मात्रै ५ करोड ६८ लाख ७८ हजार रुपैयाँको २ करोड २ लाख २४ हजार ६९६ थान प्याड निर्यात भएको छ । त्यसैगरी अमेरिकामा २ हजार रुपैयाँको ३ पिस प्याड निर्यात भएको छ ।

निर्यात बढे पनि अहिले प्याड उद्योगहरू धमाधम बन्द भइरहेको नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारी बताउँछन् । उनका अनुसार नेपालमा सञ्चालनमा रहेका ३५ उद्योगमध्ये करीब १५ ओटा बन्द भइसकेको अवस्था छ । 

‘आर्थिक मन्दी र सरकारको प्राथमिकतामा नपर्दा अहिले प्याड उद्योगहरू मर्कामा परेका छन्,’ अधिकारी भन्छन्, ‘त्यसैले प्याड उद्योगलाई प्रोत्साहन गर्न र प्याडमा पूर्णरूपमा आत्मनिर्भर हुन तयारी वस्तु आयात र कच्चा पदार्थमा भन्सार दर १० प्रतिशत फरक गर्नु आवश्यक छ । अहिले करीब २ प्रतिशत मात्र फरक छ ।’

जस्मिन हाइजिन प्रडक्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनीत शारडा पनि आफ्नो उद्योग बन्द हुने अवस्थामा पुगेको बताउँछन् । शारडाले सामान नबिक्दा जोस जाँगर पनि हराएको बताए । अहिले उद्योगबाट कम मात्रामा प्याड उत्पादन भइरहेको उनले बताए । 

यही आवको दुई महीनामा नेपालले विदेशबाट १८ करोड ६८ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ९१ लाख ३ हजार ४४४ थान स्यानिटरी प्याड आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गतवर्ष सोही अवधिमा २४ करोड ५२ लाख ७० हजार रुपैयाँको ३ करोड १७ लाख २ हजार ७२२ थान स्यानिटरी प्याड आयात भएको थियो । 

गतवर्षको तुलनामा यो वर्ष स्यानिटरी प्याड आयात भने घटेको छ । नेपालले अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, कोरिया, ताइवान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किङडम, संयुक्त राज्य अमेरिका लगायत देशबाट प्याड आयात गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्