सिद्धार्थ वनस्थलीले मनायो स्वर्ण जयन्ती, नयाँ पुस्ता प्रतिबद्धताका साथ उद्देश्यमा लाग्नु जरुरी : डा. रुइत



काठमाडौं,असोज २५ । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले नेपालको विविधता नै सम्पत्ति भएकाले त्यसबाट फाइदा लिनुपर्ने बताएका छन् । उनले नयाँ पुस्तालाई प्रतिबद्धताका साथ उद्देश्यको बाटोमा लाग्न सुझाव पनि दिएका छन् । राजधानीको बालाजु वनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै विद्यालयको पूर्वविद्यार्थी समेत रहेका रुइतले आजको पुस्तालाई चुनौती सामना गर्न सिकाउनुपर्ने बताए । 

बुधवार सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रुइतले २० वर्ष सेवा पूरा गरेका शिक्षक कर्मचारीलाई सम्मानपत्र प्रदान गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान पनि गरे । व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले पचास वर्षको अवधिमा इन्स्टिच्युटले थुप्रै आरोह–अवरोहबीच हजारौँ सक्षम विद्यार्थी उत्पादन गरेको र ती विद्यार्थीहरूले स्वदेश र विदेशमा रहेर विद्यालयको शिर उँचो बनाउन महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गरेका थिए । सो कार्यक्रममा डा। रुइतलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियन इस्टुका अध्यक्ष राजु दुवाडीले इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीले विद्यालयलाई आजको स्थितिमा ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए ।

वि. सं. २००८ मा स्थापित वनस्थली विद्याश्रम, बालाजुसँग २०३० सालमा सिद्धार्थ इङ्लिस स्कुल, कमलपोखरी गाभिएर लक्ष्मण राजवंशी संस्थापक प्राचार्य भई सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयको स्थापना भएको । पछि लक्ष्मण राजवंशीकै पहलमा सिद्धार्थ वनस्थली इन्स्टिच्युट नाम रहन गएको हो ।

कार्यक्रममा छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न सहयोग गर्ने शिवराज पन्त, कृष्णप्रसाद पाठक र हरिभक्त बुढाथोकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, सिद्धार्थ वनस्थली इन्स्टिच्युट, पनौती शाखाका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतले विद्यालयको योगदानको चर्चा गरेका थिए । 

त्यस्तै कार्यक्रममा वनस्थली एलुम्नाइका अध्यक्ष राजेश रौनियार, चीन अध्ययन केन्द्रका महासचिव डा। उपेन्द्र गौतमले समेत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयले विभिन्न कार्यक्रम गरी एक हप्तासम्म स्वर्ण जयन्ती कार्यक्रम मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्