कामनपाद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन
काठमाडौं,असोज २५ । काठमाडौं महानगरपालिकाले दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र काम गर्ने सबै प्रकारका आमसञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ ।
शिविरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताए । उनले अप्रेशन गर्नुपर्ने भएकाहरुलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए ।
उनले भने, ‘‘सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको हो । आज र भोलि यो शिविर सञ्चालन गर्नेछौँ । शिविरमा दुई हजारसम्म कर्मचारीलाई यो सेवा दिनसक्छौँ । यो निःशुल्क शिविर हो, निःशुल्क जाँच हुन्छ, निःशुल्क उपचार हुन्छ । अप्रेशन गर्नुपर्ने भए उनीहरुलाई नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्नेछौँ ।’’
विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।