विश्व खाद्य दिवसमा प्रभातफेरी



ललितपुर,असोज २६ । विश्व खाद्य दिवसको अवसरमा ललितपुरमा प्रभातफेरीको आयोजना भएको छ । हरिहरभवनको कृषि विभाग परिसरबाट शुरु भएर जावलाखेलमा प्रभातफेरी समापन भएको हो ।

सहभागीहरुले ‘जीवन र खाद्यको आधार पानी’ , ‘रैथाने बालीको उपभोग बढाऔं’, ‘आफूले खाने जति भाग मात्र लिने गरौं’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । सरकारले यस वर्ष ‘जीवन र खाद्यको आधार पानी’ नारासहित ४३औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।

विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन, भोकमरीबाट प्रभाव वर्गको उत्थानका लागि विश्वभर खाद्य दिवस मनाइन्छ ।

कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करीब ६० करोड मानिस दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्