नुवाकोट पञ्चकन्या वृद्धा हत्या प्रकरण: दशैको लागि मागेको पैसा सापटी बन्यो हत्याको कारण 



नुवाकोट,असोज २७ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ तीनघरे पुछारटोलकी ७१ वर्षीया वृद्धा नुरकुमारी थापाको हत्याको कारण दशैको लागि मागेको पैसा सापटी बनेको प्रहरीले अभियुक्तसगको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्थित प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापाले अभियुक्तले विगत दस वर्ष यता एक्लै बस्दै आएकी वृद्धासंग पैसा लिने सक्दो प्रयास गरेको तर वृद्धाले नदिने बताएपछि हत्या गरेको खुल्न गएको बताएका छन् ।

‘अभियुक्त पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ कात्तिकेका ललित भन्ने श्यामबहादुर तामाङले वृद्धा थापासंग दिनभर जसो दशै नजिकिँदै गएको दशै मनाउन धौधौ परेकोले पैसा सापटी दिन आग्रह गरेको पाइयो’ प्रहरी उपरीक्षक थापाले भने-‘वृद्धा आमाले आफुसग पैसा नभएको भन्दै घरायसी धन्दामा लागेको, पैसा भएर पनि नदिने भन्ने कुण्ठाले आक्रमण गरेको र वृद्धा चिच्याउनु थालेपछि कन्चठमा खुकुरी प्रहार गरेको अभियुक्तले बयानमा बताएको छ ।’

अभियुक्तले हत्यापछि वृद्धाको कानको रिङ सहरेटार बजारमा बेच्न गएको र सुन पसलेले बिना बील किन्न नमानेपछि पुनः घर फर्किएको,प्रमाण लुकाउन खुकुरी लुकाएको समेत प्रारम्भिक बयानका क्रममा बताएको प्रहरीले जनाएको छ। प्रहरीले म्याद थप गरी अभियुक्तलाई कानुनी कार्वाहीका लागि अगाडि बढाइएको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्