काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन



काठमाडौं,असोज २७ । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेका छन् । उनले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गरे । होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हासिल गरे । 

एपीएफका सन्तोष विष्ट दुई घण्टा ३७ मिनेट ०१ सेकेण्ड समयसहित उपविजेता बने। सन्तोषले ५० हजार रुपियाँ पाए । एपीएफकै राजन चौधरी (दुई घण्टा ४३ मिनेट ०१ सेकेन्ड) तेस्रो भए । उनी पछिल्लो संस्करणमा पनि तेस्रो स्थानमा रहेका थिए । उनी २५ हजार रुपियाँको हकदार बने ।

यसैगरी, हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का र महिलातर्फ एपीएफी विन्द्रा श्रेष्ठ च्याम्पियन भए । खड्गले सबैभन्दा चाँडै एक घन्टा ०७.२९ सकेन्ड लगाएर २१ किलोमिटर दौड सकाए । किरणसिंह बोगटी (१ः०८.५६ सकेन्ड) दोस्रो र एपीएफका राजेन्द्र तामाङ (१ः१४.३७ सकेन्ड) तेस्रो भए । एपीएफका बोगटी १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाउने धावक हुन ।

एपिएफकी विन्द्रा श्रेष्ठले एक घन्टा २५ मिनेट ४१ सकेन्ड समय लगाएर महिला हाफ म्याराथन जितिन । विन्द्रा नवौँ राष्ट्रिय खेलकुदमा महिला म्याराथनकी च्याम्पियन हुन । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने (१ः२७.०७ सेकेन्ड) उपविजेता र नेपाल प्रहरीकी सुमित्रा चौधरी (१ः३०.३८ सेकेन्ड) तेस्रो स्थानमा रहे । दुवै वर्गको हाफ म्याराथनमा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाए ।

यसैगरी पाँच किलोमिटर पुरुष ओपनमा नागेश्वर अहिर पहिलो, सञ्जीव नेपाली दोस्रो र गोपाल तामङ तेस्रो भए । सोही दूरीमा महिलातर्फ विमला तामाङ, बबिता राई र बसन्ती गोले शीर्ष तीनमा रहे ।

प्रतिक्रिया दिनुहोस्