कोरियामा छानियो नुवाकोटको चर्चित ‘गोरु पर्व’ सम्बन्धि वृत्तचित्र
काठमाडौं,असोज २७ । नुवाकोटको तारुकामा हरेक बर्ष माधे सक्रान्तीमा आयोजना हुने प्रसिद्ध गोरु जुुधाउने जात्रामाथी निर्मित वृत्तचित्र गोरु पर्व दक्षिण कोरिया हुन जागेको अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फस्टिवलमा छानिएको छ ।
दक्षिण कोरियाको बुसानमा नोभेम्बर २ देखि ६ सम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको वृत्तचित्र नेपालबाट छनौट भएको निर्माण पक्षले जानकारी गराएको छ । सिने मेर्कस प्रा लिको ब्यानरमा निर्माण भएको वृत्तचित्रको निर्माता निरञ्जन सिग्देल शर्मा हुन् भने कार्यकारी निर्माता केपी पाठक हुन् ।
गोरु पर्वको छायांकन रमेश धमला र ज्योति सिंहले गरेका हुन् । सुशील ठकुरीको पाश्र्व गायन रहेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका हुन् भने पाश्र्व संगीत राजेन्द्र बजगाईँको रहेको छ । बिभिन्न देशको दशवटा चलचित्र महोत्सवमा छनौट भएको गोरु पर्वले दुईवटा अन्तर्राष्ट्रिय अर्वाड पनि प्राप्त गरिसकेको छ ।
जात्रा माघेसंक्रान्तिकै दिन आयोजना हुने भएकाले र माघेसंक्रान्तिसँग विभिन्न संस्कृति जोडिने भएकाले यसलाई सांस्कृतिक पर्यटनको रूपमा प्रवर्धन गर्न सकिन्छ भन्ने सोचले यसको निर्माण गरेका हौँ । वृत्तचित्रका कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रवन्ध निर्देशक केपी पाठकले वृत्तचित्र निर्माण गर्नुको कारण बताउँदै भने ।
गोरु जुधाउने जात्रा हाम्रो मौलिक पनि संस्कृति हो । यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरुको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौँ । लेखक तथा निर्देशक पुरु लम्सालले बताए ।