कोशीमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीद्वारा शपथ, एमाले सांसद पनि मन्त्री नियुक्त



विराटनगर,असोज २९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए । 

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन् । मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले रामबहादुर रानामगर र शम्शेर राईलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए । रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।

केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । केन्द्रमा एमाले प्रमुख प्रतिपक्षमा छ । यो अवस्थामा कोशीमा एमालेले कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गर्नु रहस्य रहेको जानकारको आकलन छ । रासस

प्रतिक्रिया दिनुहोस्