चिसापानी अस्पतालमा ‘कृत्रिम हातखुट्टा सेवा परियोजना’



काठमाडौं,असोज २९। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना शुरू भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा परियोजनाका लागि सीजी सबल केन्द्र सञ्चालनमा आएको हो । शनिवार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रमार्फत हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा नि:शुल्क पाउने बताइएको छ ।

चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रूपमा अगाडि बढाउने योजना अनुसार केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । केन्द्रबाट हालसम्म करीब एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जानकारी दिएको छ ।

सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टीकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने बताए । ‘यो अस्पतालबाट चौबीसै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,’ उनले भने, ‘ट्रमा सेन्टर बनाउन केही अवरोध छन् । तर यो मेरो प्रतिबद्धता हो, म बनाएरै छाड्छु ।’ नवलपुरको जिल्ला अस्पतालमा पनि सीजी सबल केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्