लम्पी स्किनका कारण ७४ अर्ब क्षति



काठमाडौं,असोज ३० । मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ। 

सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले बेहोरोका छन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै फरक नपार्ने देखिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले पशुमा लम्पीको सङ्क्रमणकै कारणले दुध उत्पादन, जैविक मल उत्पादन, पशुलाई खनजोत र ढुवानीमा प्रयोग गर्ने अवस्था मात्रै कुल गार्हस्थ उत्पादनसँग जोडिने भएकाले यसले तत्कालै ठुलो असर नपार्ने बताए । “तर कृषि र पशुपालनले कुल गार्हस्थ उत्पादनमा ठुलो योगदान पु¥याउने भएकाले यसले दीर्घकालीन रूपमा समस्या निम्त्याउन सक्नेतर्फ सचेत रहनु पर्छ,” उनले भने। 

उनले अहिले उत्पादनमा आउने असर मात्रै देखिए पनि मरेका पशुको सट्टामा नयाँ पशु खरिद गर्न, उपचार, पोषणमा लाग्ने खर्चले कुल आयमा भने असर पार्ने स्पष्ट पारे । उनले अहिले कुल गार्हस्थ उत्पादनमा कृषि र पशुको २३ प्रतिशत योगदान रहेको र त्यसमा पशु मात्रैको योगदान छ प्रतिशत रहेको सन्दर्भमा पशुको क्षेत्रबाट भएको आर्थिक क्षतिले गरिब किसानलाई झन् गरिब बनाउने दाबी गरे। यद्यपि यो वर्षकै गार्हस्थ उत्पादनमा खासै अन्तर नहुने उहाँले स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस्