डुंगाचालकको पनि मापसे जाँच
पोखरा,कात्तिक २ । पोखरामा डुंगाचालकको पनि मापसे जाँच गरिएको छ । पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो ।
पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुंगा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । चाडपर्वको बेला भीडभाड बढेको र सम्भावित दुर्घटना रोक्ने डुंगा चालकको मापसे जाँच गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । ५० वटा डुङ्गाका चालकको जाँच गरिएकोमा कसैले मापसे गरेको नभेटिएको र लाइफ ज्याकेट नलगाउने तीन चालकलाई सचेत बनाइएको प्रवक्ता विकले जानकारी दिए ।
वडा प्रहरी कार्यालय बैदामले अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामको सहकार्यमा मापसे जाँच गरेको हो । कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा निगरानी बढाएको छ भने सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ ।

