चार करोड रुपियाँ मूल्य बराबरको भेडाच्याङ्ग्रा पोखरा निर्यात
पोखरा,कात्तिक २ । दसैँतिहार पर्व सुरु भएसँगै बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाबाट करिब चार करोड रुपियाँ मूल्य बराबरका भेडाच्याङ्ग्रा बिक्रीवितरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा निर्यात गरिएको छ ।
यस गाउँपालिकाबाट २२ ट्रक भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याएको जानकारी स्थानीय जनप्रतिनिधिले नै दिएका हुन् । निकै कम खाद्यान्न उत्पादन हुने साइपाल क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।
कास्की पोखरा, पाल्पा तथा स्याङ्जालगायत जिल्लामा उच्च लेकाली भेगमा पाइने भेडा तथा च्याङ्ग्राको माग बर्सेनि बढेपछि यस क्षेत्रका व्यापारीले ट्रकमा नै लोड गरेर पोखरा लिने गरेका छन् । साइपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी प्रतिट्रकमा ६० वटा भेडाका हिसाबले २२ वटा ट्रकमा एक हजार चार सय वटा भेडा पोखरा निर्यात भएको बताए ।

