धादिङका उपभोक्ता दुई किलो चिनी किन्न काठमाडौँमा
काठमाडौं,कात्तिक २ । बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् । नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाडौँको कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् ।
दसैँ, तिहार र छठमा नेपालीले ठुलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निर्वाह गर्न नसकेको भट्टराईले बताए । उनले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापरबाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे । उनले चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता समयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाए ।
भट्टराईले धादिङका खाद्यान्न पसलमा चिनी नपाएको र पाए पनि किलोको १६० रुपियाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट दुई किलो चिनी किन्न काठमाडौँमा आउनु परेको सुनाए। त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाममा बस्नुभएकी सावित्री उप्रेतीले चिनी किन्न दुई घण्टा लाममा लाग्नुपरेका बताए ।
उनले नेपालीको मुख्य चाड दसैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिएको बताए । उनले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरूमा चिनी नपाएको भन्दै दुई किलो भए पनि लाममा बसेर लिन आएको बताए । उनले सरकार जनताप्रति उत्तरदायी नहुँदा हरेक वर्ष ग्यास, चिनी, नुनलगायत अन्य खाद्यान्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताए ।
त्यस्तै, कीर्तिपुरबाट चिनी किन्नका लागि सहुलियत पसल आउनुभएका पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताए । उनले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताए । उनले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गरे ।

