बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते



बझाङ,कात्तिक ३ । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिए ।

उनका अनुसार महतको टाउको र कम्मरमा चोट लागेको थियोे । दुर्घटनामा परी घाइते हुने एकै गाउँ बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्