उपभोक्तालाई थप सहुलियत दिन खाद्यले घटायो खसीबोकाको मूल्य



काठमाडौं,कात्तिक ४ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छूट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो रु छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा विक्री गर्न थालेको छ । 

खाद्यले यसअघि जिउँदो खसीबोका प्रतिकिलो रु १० छूट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा विक्री गर्दै आएको थियो । पशुचौपायाको खरीदविक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर विक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा विक्री गर्दै आएको छ । 

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरीद गरेर ल्याएको थियो । हालसम्म छ सय ३० ‌ओटा मात्रै खसीबोका तथा च्याङ्ग्रा विक्री भएको कम्पनीले जनाएको छ । 

अझै एक हजार पाँच सय ८२ खसीबोका विक्री हुन बाँकी छ । फूलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको विक्री हुने गर्छ । ‘आज, फूलपाती र अष्टमीमा खसी बोकाको विक्री हुने हो, लामो समयम्म राख्दा दानापानी तथा स्याहार सुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो,’ सूचना अधिकारी न्यौपानेले भनिन् । 

काठमाडौं उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देश्यले कम्पनीले खसीबोका विक्री गर्दै आइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्