दशैंमा यसरी बनाउनुस् मासुका थरीथरी परिकार



काठमाडौँ,कात्तिक ५ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चार्डपर्व वडा दशैं सुरु भइसकेको छ । यो बेला अन्य समय भन्दा बढी अधिकांश ब्यक्ति नयाँ नयाँ परिकार बनाउने र परिवारसँग खुसी साट्न बेस्त हुन्छन् । अझै परिवारहरु मासुका परिवार बनाएर खाने गर्दछन् ।

अरु समय भन्दा दशैंको बेला प्रत्येकका घर परिवारमा मासुका थरीथरी परिकारहरु बनि रहेका छन् । यसमा मासुका थरी थरी परिकार बनाउन आउछ ? कुन परिकारमा कति मसला हाल्न ठिक हुन्छ त ? यसैबारे त तपाईको अन्यौललाई तल वर्णन गरेका छौं ।

छोयला

आवश्यक सामग्री

मासुः एक केजी

लसुन र अदुवाको पेस्टः १०० ग्राम

जिरा र धनियाँको धुलोः एक ्एक चम्चा

मरिचको धुलोः आधा चम्चा

टिमुरको धुलोः स्वादअनुसार

तोरीको तेलः ५० ग्राम

नुन, बेसार, हरियो खुर्सानी र हरियो लसुन, हरियो धनियाँ आवश्यकताअनुसार

बनाउने तरिका

मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने।

पोलेर तयार भएको मासुमा उपलब्धै मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनियाँ, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वादअनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ।

दसैंमा पकाइने मासुको परिकारअन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटनलगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। नेवारी समुदायमा हाँसको छोयला अत्यन्तै लोकप्रिय रहेको छ। सहरी क्षेत्रमा बफ छोयला नै बढी बिक्री हुन्छ। बफ, चिकन नचल्नेहरूका लागि मटन छोयला रोजाइमा पर्ने गरेको छ। जुनसुकै मासुको भएपछि छोयला बनाउने विधि भने एउटै रहेको छ।

मटन तास

आवश्यक साम्रगी

खसीको मासुः १ केजी

जिराको धुलोः २ चम्चा

बेसारः एक चम्चा

नुनः एक चम्चा

च्याख्ला खुर्सानीः ३ चम्चा

गरम मसलाः ३ चम्चा

अदुवा लसुनको पेस्टः एक पाउ

तोरीको तेलः १०० ग्राम

बिरेनुनः आधा चम्चा

बनाउने बिधि

आफ्नो रुचिअनुसारको साइजमा मासुको पिस बनाउने। मसला, तेल खुर्सानी, नुन, अदुवा र लसुनको पेस्टमा मासु मोलेर एक घन्टासम्म फ्रिजमा राख्ने। त्यसपछि तोरीको तेलमा फ्राई गर्ने। मासु रातो हुँदै गएपछि मसला र मासु छुट्टिन्छ। त्यसपछि मसला मात्रै निकाल्ने। मसला निकालिसकेपछि मासु मात्रै करिब १० मिनेट पुन फ्राई गर्ने। मटन तास तयार भयो। मूला, काँक्रो, गाजरको सलाद तयार पार्ने। टमाटरका अचार मिसाएर भुजासँग पनि तास खान सकिन्छ।

चिकेन सुकुटी

आवश्यक साम्रगी

चिकेन ब्रेस्टः १ केजी

तेलः १५० ग्राम

सुकेको खुर्सानी, नुन, टिमुरः स्वादअनुसार

बनाउने तरिका

कुखुराकोे छातीको मासुलाई मसिनो गरी लामो लामो साइजमा काट्ने। एकदेखि दुई दिनसम्म आगोमा सुकाउने। यसरी सुकाएको एक केजी मासु चार सय ग्राम जति मात्र सुकुटी तयार हुन्छ। सुकुटीलाई सानो सानो पिस बनाएर तोरीको तेलमा दुई तीन मिनेट मात्र फ्राई गर्ने। तयार भएको सुकुटीलाई आवश्यकता अनुसारको नुन, खुर्सानी र टिमुरको धुलो राखेर मोल्ने। स्वादअनुसार हरियो धनियाँ, खुर्सानीको टुक्रा र हरियो लसुन काटेर मिसाउन पनि सकिन्छ। यसलाई टमाटरको अचारसँग पनि खान सकिन्छ।

चाडबाडमा छिटो तयार गर्ने परिकारको रूपमा चिकेन सुकुटी फ्राई बनाउन सकिन्छ। सुकुटी बनाएर फ्रिजमा राखेर आवश्यकताअनुसार प्रयोग गर्न पनि सकिन्छ। रातो मासु खान नहुने र सुकुटी मन पराउनेहरूका लागि चिकेन सुकुटी उपयुक्त हुन्छ।

कसौँडीमा पकाएको पक्कु मासु

आवश्यक साम्रगी

खसीको हड्डी नभएको फिलाको मासु १ किलो

खसीको बोसो २०० ग्राम

लसुन र अदुवाको पेस्ट २ चम्चा

बेसार डेढ चम्चा

खुर्सानीको धुलो १ चम्चा (पिरो नखानेहरूले खुर्सानीको धुलो प्रयोग नगरे पनि हुन्छ)

नेपाली मसला ३ चम्चा (नेपाली मसलामा धनियाँ, जिरा, सुकेको खुर्सानी, अलैँची, सुकुमेल, दालचिनी, मरिच, जाइफल, थोरै लसुन र अदुवा सिलौटामा पिसेको)

तोरीको तेल २५० एमएल , दहीको पानी २५० एमएल, नुन स्वादअनुसार

भैँसीको घ्यू १५० एमएल

पकाउने तरिका

चाहिने सामग्रीको एक नम्बरदेखि १० नम्बरसम्म सबै मिसाउने र राम्रोसँग मोल्ने । त्यसपछि कसौँडी लिने र राम्रोसँग मोलेको मासु कसौँडीमा राख्ने । त्यसपछि कसौँडी आगोमा बसाल्ने । मासुबाट बाफ आउन सुरु भएपछि कसौडीँको मुखमा मिल्ने गरी माथिबाट पानी राख्न मिल्ने ढक्कनले छोप्ने । छोपेको भाँडामा पानी राख्ने । जब छोपेको भाँडोको पानी उम्लन थाल्छ, तपाईंको पक्कु मासु खानका लागि तयार हुन्छ । यसरी पकाएको मासुमा मासु पकाउँदा निस्केको ग्रेभी हालेर सिसाको सिसीमा राख्दा तिहारसम्म बिग्रँदैन ।

साँदेको खसीको मासु

आवश्यक साम्रगी

खसीको हड्डी नभएको मासु सानो पिस १ किलो

खसीको बोसो १०० ग्राम

नेपाली मसला २ चम्चा, लसुन र अदुवाको पेस्ट २ चम्चा

खुर्सानी धुलो १ चम्चा

बेसार १ चम्चा , तोरीको तेल ७० एमएल

नुन स्वादअनुसार माथिका सबै चिज मिसाई मोलेर कम्तीमा आधा घण्टा राख्ने । यसपछि फलाम तार, बाँसको सिन्का वा झिर वा प्यानमा ग्रिल गरेर पकाउने ।

पकाउने तरिका

.हरियो लसुन १०० ग्राम , सुकेको लसुन स्लाइस गरेर काटेको ५० ग्राम , प्याज स्लाइस गरेर काटेको १५० ग्राम , अदुवा ५० ग्राम झान्ने तरिका ताप्के, प्यान, फ्राइप्यानमा तोरीको तेल राख्ने । तेल तातेपछि मेथी फुराउने । मेथी रातो भएपछि सुकेको खुर्सानी स्वादअनुसार पड्काउने । खुर्सानी गोल्डेन ब्राउन कलरको भएपछि बेसार राखेर अघिको पोलेको मासु र लसुन, प्याज तथा अदुवामा झान्ने । यसपछि स्वादअनुसार कागतीको रस र नुन राखेर साँदेको खसीको मासुको स्वाद लिन सक्नुहुन्छ ।

पोलेको कुखुरा (नेपाली स्वादमा)

आवश्यक साम्रगी
कुखुराको हाड नभएको मासु १ किलो
अदुवा, लसुनको पेस्ट २ चम्चा
खुर्सानीको धुलो १ चम्चा
हरियो खुर्सानी पिसेको आधा चम्चा
नेपाली मसला २ चम्चा
बेसार १ चम्चा
तोरीको तेल ६० एमएल
नुन स्वादअनुसार
मेथीको गेडा १५ ग्राम

बनाउने तरिका
मेथी र तेल छाडेर सबै मिसाएर मोल्ने । भाँडोमा तेल तताएर मेथी अनि अघि मोलेको चिकेनमा झानिदिने । झानिसकेपछि ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने । फ्रिज छैन भने यत्तिकै छोडे पनि हुन्छ । यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा पोल्न सकिन्छ । यसरी पोलेको कुखुरा गोलभेँडाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ।

मंगोलियन चिकेन

सस बनाउन चाहिने सामग्री
१. तेल ५० एमएल
२. प्याज चप १०० ग्राम
३. अदुवा चप ५० ग्राम
४. लसुन चप ५० ग्राम
५. गोलभेँडा चप ५० ग्राम
६. धनियाँ चप ५० ग्राम
७. सोया सस ४० एमएल
८. नुन र मरिचको धुलो स्वादअनुसार
९. लसुन र प्याजको डाँठ ५० ग्राम
१०. रम ३० एमएल
११. कर्न फ्लावर आवश्यकताअनुसार

बनाउने तरिका
सिंगो कुखुरालाई चार भाग लगाएर काट्ने । यसमा रफ कट प्याज, अदुवा, लसुन, गाजर हाल्ने । त्यसपछि तेजपात, सुकेको खुर्सानी, दालचिनी, स्टार एनिस, सोया सस, तेल हाल्ने । अब कराइ वा डेक्ची, प्यान, कुकर घरमा जे छ, त्यसमा चिकेन राखी ८०० एमएलदेखि एक लिटरसम्म पानी राखेर घटीमा ३५ मिनेट र बढीमा ४५ मिनेट पकाउने । त्यसपछि कुखुराको पिस निकाली फ्राई गर्ने ।

फ्राइड कुखुराका लागि सस बनाउने ।पहिला तेल हाली भाँडो तताउने । त्यसमा प्याज, लसुन, अदुवा, गोलभेँडा, धनियाँ हाली चलाउने । त्यसपछि सोया सस, रम, नुन, मरिचको धुलो, लसुन र प्याजको डाँठ हाली चलाउने । थोरै पानी राखी पकाउने र अघि फ्राई गरेको चिकेन त्यसमा हाली राम्रोसँग चलाउने । अब मंगोलियन चिकेन तयार भयो ।

प्रतिक्रिया दिनुहोस्