पूर्व राष्ट्रपति भण्डारीद्वारा नेपालीमा बडादसैंको शुभकामना



काठमाडौं,कात्तिक ५ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । 

असत्यमाथि सत्य र न्यायको विजयको प्रतीकको रुपमा मनाइने दसैंको आर्थिक तथा सामाजिक पक्ष बलियो रहेको उनले चर्चा गरेका छन् । पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भनेका छन् , ‘हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका  रूपमा मनाइने बडा दसैँ पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ ।”

दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष रहेको उनको भनाइ छ । दसैंले समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको उनले चर्चा गरेका छन् । सन्देशमा भने, ‘ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको छ । कृषिबाट क्रमशस् अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका  माध्यममा आएको परिवर्तनका कारण  मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन ।”

देश विदेशमा रहेका परिवारका सदस्यबीचको पुनरमिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले बडादसैंले परिवार, समाज र राष्टलाई भावनात्मक रुपमा एक बनाएको उनले सन्देशमा चर्चा गरेका छन् । 

नेपाली चाडपर्वले देशको विविधतालाई थप मजबुत बनाउने काम गर्ने विश्वास व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले दसै २०८० ले सबै नेपालीमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वास गरोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्