रोटेपिङको संरक्षणमा जुटे नुवाकोट थानापतिका युवाहरू

नुवाकोट,कात्तिक ६ । पछिल्लो समय चाडपर्वमा विगतमा झैं रौनक छाउन छोडेको छ । चाडपर्वमा गाउँ प्रवेश गरेका युवायुवती ईन्टरनेट पहुँच र जुवातासमा टोलटोलमै हराउन थालेपछि दशै रौनक हराउन थालेको हो । विगतमा रमाइलो हुने गरेको भञ्ज्याङ्, चौतारी, दोबाटो लगायत ठाउँ सुनसान प्रायः भएको छ ।
जिल्लाको पूर्वी क्षेत्र शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका युवाहरू भने आफ्नो मौलिक संस्कृति जोगाउन लागिपरेका छन । गाउँकै युवाहरूले लोप हुुँदै गएको रोटेपिङ यो दसैँमा खेल्न पाउदा दश वर्षदेखिको इच्छा पुूरा भएको स्थानीय सन्देश डङोलले बताए।
विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले बिगत दश बर्षदेखि कतै पनि रोटेपिङ देख्न त परै जाओस् खेल्न पनि पाएको थिएन” उनले भने, “अहिले युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले पिङको महत्व घट्दैगएको छ ।”नयाँपुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर जुवातासमा रमाउने, नयाँ ठाउँ घुम्न जानेभएकाले रोटे पिङ, लिङ्गे पिङको महत्व हराउँदै गएको स्थानीय रामकृष्ण तामाङले बताए ।
जिल्लामा विगत दश बर्षदेखि कहीँ पनि रोटेपिङ देखिएन, यो एक किसिमले लोप नै हुुदैँगएको जस्तो लाग्यो । अहिले स्थानीय स्तरमै लोप हुुन लागेका रोटे, लिङे पिङको संरक्षणका लागि रोटेपिङ बनाउन लागिपरेको सुन्दरादेवी युवा समूहका जनकराज थपलियाले बताए । बजेट नै अभाव भएपनि सहयोग रकम उठाएर थानापतिमा रोटेपिङ थापिएको थपलिया बताउँछन् । थानापतिमा रोटेपिङ छहरे टोखा सडक छेवैमा राखिएकाले सडकमा यात्रा गरिरहेका जो कोही रमाउन चाहेको देखिन्छ ।
एक दशक अघिसम्म जताततै पिङ हुने गरेको र दसैँ लागेसँगै चोक–चोक, टोलमा पिङ संस्कृतीमा रमाइलो गरेको गीत संगीतमा सहभागी भएको देख्ने गरेको तर पछिल्लो समय यस्ता परम्परा मास्सिदै गएको जानकारहरु बताउँछन् ।सुन्दरादेवी युवा समूहको सक्रियतामा थानापतिको छहरे बजार नजिकै रोटेपिङमा अहिले युवायुवती झुम्मिएर रमाइरहेको देख्दा हर्ष अनुभूति हुने गरेको थपलियाले बताए ।
दसैँको मुख्य संस्कृतीमा लिङ्गे पिङ समेत लोप हुन थालेपछि नुवाकोट पञ्चकन्या गाउँपालिका नेपाली काङ्ग्रेसका नेता माधब प्रसाद खनालले विभिन्न गाउँमा लिङ्गे पिङको डोरी वितरण गरेका छन् । उनले भेडाबारी,चुहानडाडा, कविलास, पञ्चकन्या लगायत विभिन्न बस्तीका २५ ठाउँमा पिङको डोरी (लठारो) वितरण गरेका हुन् । पछिल्लो समयमा समाजबाटै लोप हुँदै गएको पिङ संस्कृति जगेर्नाका लागि डोरी वितरण गरेको खनालले बताए ।
हिन्दुु धर्मको ग्रन्थमा दशैँको बेलामा पिङ खेल्दा धर्ती छोडनुुपर्ने भन्ने मान्याताले पनि यस्ता पिङका्े सरक्षणमा लागिपरेको नेता खनालले बताए । बस्ती पातलिदै जानु र अर्कोतर्फ इन्टरनेटको बढ्दो प्रयोग, वैदेशिक रोजगार जस्ता कारणले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको उनको बुझाइ छ ।
रोटे पिङ नै लोप हुुन थालेपछि एकाध संरक्षणमा जुुटेपछि स्थानीयमा उत्साह छाएको भद्रुटारका पूर्व शिक्षक एवम् व्यवसायी टिकाप्रसाद कडेल बताउँछन् । लोप हुुन लागेका पिङको सरक्षणका लागि आगामी बर्षदेखि स्थानीय स्तरबाटै गाउँपालिका र नगरपालिकाले नै बजेट बिनियोजन गरेर अघि बढ्नुपर्ने उनको तर्क छ ।