पाल्पामा फेरि दुर्घटना : आठ जना घाइते, तीनको अवस्था गम्भीर



पाल्पा,कात्तिक ६ । पाल्पामा पुनः अर्को जिप दुर्घटनामा परी आठ जना घाइते भएका छन् । गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ४१६५ नम्बरको जिप सोमबार दिउँसाे दुई बजेतिर तानसेन–७, लामीडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–२, का ४५ वर्षीय रेशम गिरी, गुल्मी जिल्ला रुरु गाउँपालिका थोर्गाका ४५ वर्षीय टोपकला ज्ञवाली, गुल्मी स्मा गाउँपालिका–४, का ३९ वर्षीय दानबहादुर खत्री गम्भीर घाइते भएका छन् । घाइते सबैको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाइले जानकारी दिए । अन्यको अवस्था भने सामान्य रहेको उनले बताए । 

यसअघि आइतबार बेलुकी पाल्पाको रानीमहल नजिकै बैकुण्ठे भीरमा जिप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।सोमबार बिहान आर्यभाङ्ज्याङ–रामपुर सडक खण्डमा भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । दसैं तथा चाडपर्वको समयमा अत्यधिक गति र सवारी साधनको चापका कारण दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्