बढ्दो प्रविधि र मनोरञ्जन: गाउँघरमा अचेल मच्चिँदैनन् पिङ



काठमाडौँ,कात्तिक ९ । महलदेखि झुप्रासम्म रौनकताका साथ मनाइने नेपाली समाजको विशेष चाड बडादसैँले अहिले हरेकका घर आँगनमा उल्लास र उमङ्गका साथ प्रवेश पाइसकेको छ । दसैँ भन्नेवित्तिकै विजयको रौनक, सौभाग्यको टिका, मासु, चङ्गा र पिङसँगै अरुअरु धेरैको एकै पटक सम्झना हुन्छ । तर आजभोलि दसैँमा उमङ्गका साथ खेलिने पुराना पिङहरू गाउँघरतिर भने हराउँदै गएको छ । 

चाडपर्वमा सहरी तथा ग्रामीण क्षेत्रमा विगत १०/१२ वर्ष अघिसम्म पनि छ्यापछ्याप्ती हुने गरेका विभिन्न प्रकारका पिङहरू अहिले विस्तारै लोप हुन थालेकोमा सबैलाई चिन्तित बनाएको छ । जताततै यत्रतत्र मच्चिनुपर्ने यो दसैँमा लिङ्गे पिङ, जाँते पिङ तथा विषेशगरी रोटे पिङ र चर्खा पिङको बिरलै बाहेक देख्नसमेत मुस्किल छ । दशैँतिहारको बेला वर्षको एक पटक पैतालाले धर्ती छोड्नुपर्छ भन्ने धार्मिक मान्यताको लागी भए पनि मनोरञ्जनको लागी पिङमा मच्चिनु दसैँको विशेषता हो । तैपनि गाडीमा चढ्दा पनि भुईँ त छाडिन्छ भन्ने आधुनिक ठट्यौलो मानसिकताले घर जमाउँदै गएको छ अहिलेका पुस्तामा । जसका कारण पिङ संस्कृतिलाई जोगाउन हम्मे हम्मे पर्दै गएको बुझ्न सकिन्छ ।

सहरिया क्षेत्रका युवाहरू आधुनिक मनोरञ्जनका साधनहरू सामाजिक सञ्जालदेखि अन्य आयामहरूमा रमाउन थालेपछि यस्ता पिङहरू क्रमिक रूपमा लोप हुँदै गएको इतिहासकार तथा संस्कृतिविद्हरू बताउँछन् । ‘अहिलेको जमानामा विद्युतीय सञ्चार माध्यम र विलासी साधनहरूमा युवा जमात भुल्नाले हाम्रा परम्परागत मौलिक पिङ विस्थापित भइरहेका छन्’, नुवाकोटका संस्कृतिविद् रामहरि बाजे भन्छन् । पर्यटक लोभ्याउन पनि पिङ संस्कृति जोगाउनुपर्ने उनको धारणा छ । आधुनिक राम रमिता र मनोरञ्जनमा भुल्न थालेको आधुनिक युवापुस्ता यसप्रति चासो राख्न छोडेको बुढापाकाहरूको आरोप पनि छ ।

दसैँको घटस्थापनादेखि नै गाउँघरमा मच्चिन थाल्ने पिङहरू बिरलै त के लोप नै हुन थाल्नुमा विदेशी संस्कृतिको नक्कल गर्ने प्रवृत्ति बढ्दै जानु र त्यसको प्रभावले नेपाली मौलिक पहिचान गुम्दै गएको बुढापाकाको आरोपलाई अहिलेका युवा पनि स्वीकार गर्छन् । युवापुस्ताको बेवास्ताले पिङ सङ्कटमा परेकोप्रति जिलिङका युवा रामशरण बजगाईँको आफ्नै स्वीकारोक्ति छ । ‘हामी अर्काको सिको गरिरहेका छौँ र गाउँका युवाहरू बिदेसिने क्रम बढेपछि पिङ हाल्ने युवाको अभावले यस्तो समस्या भइरहेको छ’, बजगाईँले भने ।

जङ्गलमा गएर पिङका लागि आवश्यक पर्ने बाहाँका साथै रोटेपङिका लागी चाहिने नयाँ नयाँ पिर्का फेर्नुपर्ने र कतिपय ठाउँमा बाँसको अभावले टाढा–टाढाबाट ल्याउनुपर्ने भएकोले पनि युवाको यसप्रतिको रुचि घट्दै गएको हो भने वनजंगल विनाश र भएका अधिकांश वनजंगलहरु पनि सामुदायिक वनमा रूपान्तरण भएपछि रोटे पिङका लागि काठ नै पाउन मुस्किल भइरहेको छ । बुढापाकाहरूको यस्ता मनोरञ्जनका साधनमा मोह हुँदाहुँदै पनि शारीरिक कारणले गर्दा उनीहरू आफ्नो मोहलाई थन्क्याउन बाध्य भएको गुनासो गर्छन् । पहाडी भेगका दुर्गम गाउँमा कतैकतै पिङ देख्न नपाइएको भने होइन । 

तैपनि गाउँका युवायुवतीहरू मिलेर बनाइने यस्ता पिङ हराउनुमा पछिल्लो समय युवापुस्ता गाउँमा नबस्नु र परम्परा भुल्नुले पिङ देख्न मुस्किल छ । अझ सहरमा त अधिकांश युवाहरू दसैँ तिहारमा आफ्नो मूल घर फर्कने र गाउँमा पनि हतार–हतारमा चाड मनाउन आउने हुँदा यस्तो पिङ हाल्न फुर्सद नै छैन आजकाल उनीहरूलाई । 

यस्तो छ समाजमा पिङको महत्त्व

विषेशगरी पिङहरूमध्येको पनि अति लोकप्रिय पिङ रोटे पिङ अचेल सहरमा मात्र होइन गाउँघरमा समेत बन्न छोडेका छन् । रोटे पिङको ऐतिहासिक महत्वको बारेमा स्पष्ट भनाई नभए पनि यसको इतिहास धेरै पुरानो रहेको पाइन्छ । दसैँको बेला रमाइलो गर्ने र साथीभाइहरूसँग भेटघाट गर्ने थलोको रूपमा रोटे पिङलाई नेपाली समाजले लिँदै आएको देखिन्छ । गाउँमा युवायुवती भेट हुने थलो पिङ पनि हो । माया, आत्मीयता र आपसी सद्भाव साटासाट गर्ने मौका जुराउँछ पिङले । 

दसैँमा पिङ खेल्नै पर्ने मान्यताको पछाडि संस्कृति, स्वास्थ्य र मनोरञ्जनले उत्तिकै साथ दिएको पाइन्छ । खास गरी दशैँतिहारजस्ता चाडपर्वमा माछा मासु र अनेकन् परिकार खाइन्छ । पिङले यसको पाचन प्रक्रियामा सघाउ पुर्याउने  गर्छ । पिङमा उठ्ने बस्ने क्रममा पेटको कसरत पनि हुन्छ । दसैँमा मज्जाले खाइसकेपछि पिङ खेल्नुको फाइदा स्वास्थ्यसँग जोडिएको छ । टिका लगाउन हिँड्नेहरू आज एक दिन धर्ती छोड्नुपर्छ भन्दै चर्खे र रोटे पिङ खेल्थे तर अहिले त्यस्तो छैन । अहिले जस्तो आधुनिक मनोरञ्जनका साधनहरूको विकास र विस्तार नभइसकेको अहिलेको जमानामा रोटेपङि र लिङ्गे पिङ नै नेपाली समाजको एक मात्रै मनोरञ्जनको साधन थियो । अहिले क्रमिक रूपमा भइरहेको यसको विस्थापनले बुढापाकाहरु  आफ्नो संस्कृति हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गर्छन् ।

गाउँ गाउँमा तीन/चार वर्ष अघिसम्म प्रशस्तै घुमिरहने जाँते र रोटे पिङ अनि बेतोडले मच्चिरहने लिङ्गेपिङहरु अहिले इतिहासमा मात्र सीमित हुन लागेको यस तथ्यबाट बुझ्न सकिन्छ । अर्कोतर्फ यस्ता पुराना पिङहरू बनाउन धेरै मेहनत र परिश्रम गर्नुपर्ने हुनाले पनि यसप्रतिको मोह बिस्तारै घट्न थालेको हो । यस्तो सङ्कट पर्नुमा पिङ बनाउने प्राविधिक एवं व्यवहारिक ज्ञान भएका व्यक्तिहरूको अभाव र मनोरञ्जनका अरू विकल्पहरूको पर्याप्तताले पिङ विस्थापित हुँदै छन् । रोटे पिङमा चार वटा पिर्का हुनेगरे पनि पहिला पहिला त आठ र बा¥ह पिर्का भएका पिङपनि हाल्ने चलन रहेको बुढापाकाहरू भन्ने गर्छन् । 

रमाइलोको लागी मात्र नभई अझ पिङको अर्को रोचक पक्ष पनि भेट्न सकिन्छ । गाउँघरमा युवायुवतीहरूमा पिङ खेल्दा भएको भेटघाटले एक अर्कामा मायाप्रीति बस्न गई प्रेमी प्रेमिका बन्ने गरेको धेरै युवाहरूको कथन छ । यस्तै किसिमका रोटे पिङ र जाँते पिङमै भेट भएर माया प्रेम बसेपछि केही जोडीहरूले विवाह नै गर्ने गरेका उदाहरणहरू पनि प्रशस्तै छन् । माया प्रेम त के, सहर बजार र गाउँमा पनि पिङ नै देख्न मुस्किल हुन थालेपछि धेरैलाई अबका दसैँ र तिहारहरूमा आफ्नो गाउँको गतिविधिले पुरै चाड भरी नै सताइरहन्छ । 

प्रतिक्रिया दिनुहोस्