जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी



झापा, वैशाख २७ — झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् ।तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिरामी पर्नेमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका रहेका छन् ।

बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रारम्भिक उपचारपछि नौ जनालाई थप उपचारका लागि दमकस्थित बाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ । प्रहरीले जङ्गली च्याउ विषाक्त हुन सक्ने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्