गुल्मी धुर्कोटका ८० वर्षभन्दा बढी उमेरका बृद्धबृद्धालाई सम्मान

गुल्मी,कात्तिक ११ । गुल्मीको धुर्कोट गाउँपालिकामा ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । गाउँपालिकाभरिका ७० भन्दा बढी बृद्धबृद्धालाई खादासहित सम्मानपत्र र फलफूल वितरण गरिएको हो ।
धुर्कोट गाउँपालिका–६ निवासी स्वर्गीय बासबहादुर जिसीको सम्झनामा छोराहरू डाक्टर विष्णुबहादुर जिसी, नेपाली सेनाका सहायक रथी कृष्णबहादुर जिसी र दानबहादुर जिसीको आयोजनामा बृद्धबृद्धालाई सम्मान गरिएको छ ।
सोही अवसरमा बासबहादुर जिसीको सम्झनामा लेखिएको ‘संस्मरण सँगालो’ नामक पुस्तक गाउँपालिका तथा विभिन्न विद्यालयलाई हस्तान्तरण गरिएको छ। सो पुस्तक गत असोज २८ गते काडमाडौँको सभागृहमा साहित्यकार शशी पन्थी र पूर्व सांसद एवम् साहित्यकार सूर्यबहादुर सेनले विमोचन गरेका थिए ।