साढे ३३ प्रतिशतले बढ्यो फूलको कारोबार



काठमाडौं,कात्तिक १३। नेपालमा फूलको व्यावसायिक कारोबार एक वर्षमा साढे ३३ प्रतिशतले बढेको पाइएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपालको तथ्यांक अनुसार कोरोना महामारीको असर कम हुँदै गएपछि पुष्प व्यवसाय बढेको हो ।

आर्थिक वर्ष (आव) २०७५/७६ मा नेपालमा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएकोमा कोरोना महामारीको असरका कारण त्यसपछिका दुई आव २०७६/७७ र ७७/७८ मा १ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसपछिका आवमा भने यो व्यवसाय बढेको देखिएको छ ।

संघका अनुसार आव २०७८/७९ मा २ अर्ब ३० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएकोमा आव २०७९/८० मा बढेर ३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सामान्य अवस्थामा नेपालमा पुष्प व्यवसाय वार्षिक १० देखि १५ प्रतिशतले बढ्ने गरेको भए पनि पछिल्ला केही वर्ष कोरोना महामारीको असरले यसको वृद्धिदर खुम्चिएको संघका अध्यक्ष मिनबहादुर तामाङले बताए । पछिल्ला दुई आवदेखि भने सुधार देखिएको उनको भनाइ छ । 

संघका अनुसार हाल ४८ जिल्लाको २२१ हेक्टर क्षेत्रफल जमीनमा पुष्पखेती गरिएको छ, जसमा १ हजार १०० भन्दा बढी किसान संलग्न छन् । यो व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४४ हजार जनशक्तिले रोजगारी पाएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०७९/८० मा नेपालबाट पुष्प तथा पुष्पजन्य वस्तु ६८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो भने ३३ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

१६औं गोदावरी फूल प्रदर्शनी हुँदै

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ नारासहित १६औं गोदावरी फूल प्रदर्शनी मेला यही कात्तिक १४ देखि १८ गतेसम्म हुने भएको छ । आउँदै गरेको तिहार र छठपर्वलाई लक्षित गर्दै संघले हरेक वर्षजस्तै यस वर्ष पनि प्रदर्शनी गर्न लागेको हो ।

ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आयोजना हुन लागेको प्रदर्शनीमा ५५ ओटा व्यावसायिक, दुईओटा प्रतियोगितात्मक र पाँचओटा सूचनामूलक स्टल रहनेछन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने प्रदर्शनी ४० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनीमा १ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा रहेको मेला संयोजक सीताराम पन्तले बताए । गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन, समयानुकूल जातको विकास एवं गुणस्तरीय उत्पादनमा यस मेलाले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्