नुवाकोटको शिवपुरीमा लप्सेखोला झरना महोत्सव हुने



नुवाकोट,कात्तिक १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा लप्सेखोला झरना महोत्सव हुने भएको छ ।

पर्यटकीय गन्तव्य स्थापित गर्न यही कार्तिक २५ गते लप्सेखोला झरना महोत्सवको तयारी गरिएको शिवपुरी गाउँ पालिका वडा नम्बर ६ का जनप्रतिनिधि कमल तामाङ (नुवाकोटे टाइगर) ले बताए ।

शिवपुरी गाउँपालिका वडा नं. ६ को आयोजना तथा समुन्द्रादेवी युवा क्लवको व्यवस्थापनमा हुने महोत्सवमा स्थानीय स्तरका गुन्द्रुक, मकै र भटमासका साथै लोकल खानाको समेत भोजन गर्न पाइने आयोजकले जनाएको छ ।

बाह्र महिना सदावहार सय फिट उचाईबाट झर्ने यस झरनामा काठमाडौको सामाखुसी टोखा हुँदै २४ किलोमीटरको सवारीमा पुग्न सकिने शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।

झरनालाई पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष श्रेष्ठले बताए । महोत्सवको सम्पदा संरक्षण दुव:ले प्रचारप्रसारको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्