अर्थमन्त्री डा. महत र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

लण्डन,कात्तिक १४ । अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।
लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन लण्डन आएका मन्त्री डा. महतले हरित ऊर्जा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि आग्रह गरे । उनले ग्लास्कोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताए ।
कोभिडले गर्दा नेपालको स्रोत साधनमा आएको कमजोरी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको उनले बताए ।
जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि पनि यस क्षेत्रमा लगानी आवश्यक रहेको पनि उनले बताए । साथै, उनले बेलायतको निजी क्षेत्रबाट पनि थप लगानी बढाउन आग्रह गरे ।
परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे । उनले बेलायतबाट नेपालमा लगानी बढाउने कुरामा आफू सकारात्मक रहेको बताए ।