टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ,कात्तिक १५ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले टालटुले तरिकाले अर्थतन्त्रको दवाव नहट्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन् ।

‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं’ उनले भने, ‘तर अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’

छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्ने उनले बताए । ‘बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग गरेको छैन। परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन । नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ’ उनले भने ।

बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नु पर्ने उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्